अपराध

अस्पतालको गाडीबाट गाँजा ढुवानी !

विराटनगरमा अस्पतालको नाम प्रयोग गरेर गाँजा तस्करी गर्ने प्रयासलाई सशस्त्र प्रहरीले विफल पारेको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित (नेपाल–भारत सीमा क्षेत्र) कोलर चोकबाट सशस्त्र प्रहरीले मंगलबार राति करिब ६० किलो गाँजा विराटनगरको एक आँखा अस्पतालको गाडीबाट बरामद गरेको हो ।

विराटनगरमा सञ्चालित रहेको दिव्य ज्योति अस्पताल लेखिएको गाडीमा लागुऔषध गाँजा फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाको टोलीले मंगलबार राति ११ बजेतिर ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको भ्यानलाई चेकजाँचका लागि रोख्न  खोजेको बताउँदै, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले भने, ‘राति ११ बजेतिर सीमा क्षेत्रमा गाडी देखेपछि हाम्रो टोलीले गाडीलाई रोक्न खोजेपछि चालकले गाडी नै छाडेर भागे । गाडीलाई चेकजाँच गर्दा गाडीभित्र दुईवटा बोरामा राखिएको ६० किलो गाँजा फेला पर्यो । आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएका छौं ।’  

विराटनगरमा पहिलो पटक लागुऔषध अस्पतालको गाडीमा भेटिएको होइन । यसअघि पनि विभिन्न समयमा भारतबाट नेपाल आउँदै गरेका नेपाली नम्बरका एम्बुलेन्समा लागुऔषध भेटिएका छन् । अस्पतालको नाम लेखिएको गाडीलाई सुरक्षाकर्मीले सामान्यतया शंका नगर्ने र जाँचमा खुकुलो हुने ठानेर तस्करीमा प्रयोग गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।  

गाडी उक्त अस्पतालको हो कि हैन भनेर यकिन हुन बाँकी रहेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘राति एपिएफले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखेको गाडी र त्यसभित्र रहेको ६० केजी गाँजा बरामद गरेको रहेछ । उनीहरुले हामीलाई थप अनुसन्धान गर्नका लागि गाडी र बरामद भएको गाँजा बुझाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । गाडी धनी को, कसले कहिलेदेखि प्रयोग गर्दै आएको लगायतका विभिन्न तवरबाट घटनाको अनुसन्धान भएपछि थप कुरा आउने छ ।’

विराटनगरका अधिकांश आँखा अस्पतालले भारतको जोगबनीमा रहेको रेल्वे स्टेसन र बसपार्कबाट भारतीय नागरिक आँखा उपचारका लागि आउनेलाई लिन जाने गरेको छ । त्यहाँ बिरामी लिन जाने सबै गाडीले आआफ्नो आँखा अस्पतालको नाम लेखेर लैजाने गरेका छन् ।  

अस्पताल प्रशासनले पत्रकार सम्मेलन गर्दै गाँजासहित बरामद भएको गाडी आफ्नो नरहेको दाबी गरेको छ ।  

 

प्रकाशित: १७ भाद्र २०८३ १६:१४ बुधबार