अपराध

ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

लागुऔषधसहित तीन भारतीय पक्राउ परेका छन् । विराटनगर–१७ स्थित आईसीपी रोडबाट लागुऔषध ब्राउनसुगरसहित तीन भारतीय पक्राउ परेका हुन् ।

भारत बिहारको अररिया जिल्ला खैराखगरा–४ का १९ वर्षीय राजकुमार साह, २० वर्षीय सेठू कुमार र २० वर्षीय रोशन कुमारलाई ब्राउनसुगरसहित पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार भारतबाट एउटै मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई शंका लागेर प्रहरीले रोकेको थियो । मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडि सवार राजकुमारको साथबाट १ सय ४ ग्राम ब्राउनसुगर बरामद भएको छ ।  

भारतीय नम्बर प्लेट बिआर ३८ एपी ९०४९ नम्बरको एउटै मोटरसाइकलमा सवार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले शनिबार दिउँसो १ बजेतिर पक्राउ गरेको हो ।  

राजकुमारले देभगन्ध लेखिएको धूपको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको डिएसपी चुँडालले बताइन् । बरामद भएको ब्राउनसुगर र नियन्त्रणमा लिइएको मोटरसाइकसहित ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २६ पुस २०८२ १९:१६ शनिबार