काठमाडौंको बानेश्वरस्थित प्रयागमार्गबाट प्रहरीले करिब ४२ ग्राम खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३१ प्रयागमार्गस्थित एक सुनचाँदी पसल नजिक लागुऔषधको अवैध खरिद-बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरको टोलीले उनीहरूलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका-८ घर भई हाल ललितपुर बस्ने ३८ वर्षीय विनोद कुमार वि.क, तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ घर भई हाल भक्तपुर बस्ने ३५ वर्षीय हमिर डाँगी र हुम्लाको ताँजाकोट गाउँपालिका-४ घर भई हाल ललितपुर-१३ बस्ने ३६ वर्षीय विजय कार्की रहेका छन्।
उनीहरूको खानतलासी गर्दा ४१.८१ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र कारोबारमा प्रयोग गरिएको बा ६० प २५६ नम्बरको स्कुटर बरामद भएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाले जानकारी दिए।
प्रकाशित: ५ आश्विन २०८३ १८:४६ सोमबार