सरकारी छाप, दस्तखत तथा कागजात किर्ते गरी नक्कली कागजात तयार गर्ने गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२९, पुतलीसडकस्थित पुष्पराज राईले सञ्चालन गरेको Passion Foundation Consultancy मा सरकारी छाप दस्तखत किर्ते गरी कागजात तयार पार्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १ बजे कन्सल्टेन्सीमा चेकजाँच गर्दा विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप, ल्यापटपलगायतका सामग्री फेला पारेको जनाएको छ।
उक्त सामग्री बरामद गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ललितपुरमा बस्दै आएका ३४ वर्षीय सन्दीप कार्की, बुढानीलकण्ठ नगरपालिका–११ का २५ वर्षीय संगीता मगर र गोंगबुमा बस्दै आएकी २० वर्षीया अंकिता नेपाल रहेका छन्।
उनीहरूलाई लिखतसम्बन्धी कसुरमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट उनीहरूलाई तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
Passion Foundation ले आफूलाई विदेश अध्ययनका लागि शैक्षिक परामर्श दिने संस्थाका रूपमा प्रस्तुत गर्दै आएको देखिन्छ। संस्थाको वेबसाइटमा पनि विश्वविद्यालय भर्ना, छात्रवृत्ति सहायता, कागजातसम्बन्धी मार्गदर्शनलगायतका सेवा उपलब्ध गराउने उल्लेख छ।
प्रहरीले बरामद भएका कागजात तथा विद्युतीय सामग्रीको थप परीक्षण गरी सरकारी छाप तथा दस्तखत किर्ते गर्ने कार्यमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १९:११ बुधबार



