अपराध

प्याडभित्र लुकाएर कारागार लैजान खोजिएको ट्याब्लेट बरामद

विराटनगरस्थित मोरङ जिल्ला कारागारमा दुई महिलाले प्याडभित्र लुकाएर लैजान खोजेको लागूऔषध जस्तो देखिने ४८० थान ट्याब्लेट बरामद भएको छ।

कारागारको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–११ की मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएका ट्याब्लेट फेला परेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनका अनुसार उनीहरूबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याब्लेट बरामद गरिएको हो।

बरामद ट्याब्लेटसहित दुवै महिलालाई आवश्यक कानुनी कारबाहीका लागि कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको प्रशासनले जनाएको छ।

बरामद ट्याब्लेटको नाम, प्रकृति तथा प्रयोजनबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन।

प्रकाशित: २९ आश्विन २०८३ १८:०८ बिहीबार