बाइनान्समार्फत दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय सुनिल कुमार यादव पक्राउ परेका छन्।
धनुषाको सबैला नगरपालिका-१२ स्थायी घर भएका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवले बाइनान्स आईडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी बराबरको कारोबार गरेका थिए। उक्त रकम नेपाली रुपैयाँमा दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबर हुन्छ।
नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।
सोही सूचनाका आधारमा प्रहरीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा यादवको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) र दफा २६२ (क) को उपदफा १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अनुसार अनुसन्धान भइरहेको छ।
प्रहरीले यादवलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ ०६:३५ शुक्रबार