अपराध

लापरबाहीले जेलभित्रै गुण्डा समूहकाे ‘ग्याङ वार’: कारागार राज्यको नियन्त्रणबाहिर

प्रहरी प्रशासनको चरम लापरबाहीले शुक्रबार मध्यरात कैलाली कारागारमा रक्तपात भएको छ। दुई गुन्डा समूहबिचको सांघातिक झगडा हुँदा एक जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन्। 

राति सुतिरहेका एक कैदीको समूहमाथि अर्को समूहले अन्धाधुन्ध सांघातिक हमला गरेको थियो। जसको परिणाम कारागारभित्रै रक्तपातको स्थिति बनेको छ। 

कारागारभित्रै यस्तो संगीन घटना हुनुमा सुरक्षा निकायको गम्भीर त्रुटि देखिन्छ। बिहीबार नै कैदीहरू बिच एक चरण झडप भइसकेको थियो। जसमा पाँच जना घाइते पनि भएका थिए।

कैदीबिच यो स्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिदैन्। कतिसम्म भने कारागारभित्र सम्भावित अर्को घटना हुने आशंकासहितको सूचना पहिले नै दिइएको स्रोत बताउँछ। तर त्यसमा सुरक्षा संयन्त्रले गम्भीरताका साथ लिएर सतर्कता अपनाएको देखिएन। 

पृष्ठभूमि र कारागार घटना

कैलालीमा ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूह पछिल्लो समय गुण्डागर्दीमा संलग्न रहेका प्रहरी अधिकारीहरू बताउँछन्। यिनै समूहको झगडाको सिलसिलासँग कारागारको घटना जोडिन्छ। 

पहिले विभिन्न सरकारी ठेक्कापट्टामा मोलमोलाइ गर्ने, धम्क्याएर चन्दा असुल्ने काममा यी समूह सक्रिय रहेको बताइन्छ। सुरुमा एकै समूहमा रहेका यी दुई गुन्डा समूह पछिल्ला चार पाँच वर्षयता दुस्मनीमा उत्रिएका छन्। दुवै समूह एक अर्काको ज्यान लिने स्तरमा उत्रिने गरेका घटनाहरू प्रहरीको रेकर्डमा छन्। 

दुवै समूहबिचको चर्चित घटना २०७८ कात्तिक २३ गते टीकापुरमा भएको ‘भूपेन्द्र बडूवाल’ हत्याकाण्ड। 

प्रहरीका अनुसार बडूवाल जयन्द्र शाह समूहकै भएकाले नन्दु सरकारको समूहले उनको हत्या गरेको थियो। नन्दु सरकारको समूह त्यो दिन जयन्द्र समूहका अर्का पात्र कपिल श्रेष्ठमाथि आक्रमण गर्न चाहन्थ्यो। श्रेष्ठले आफूमाथि आक्रमण गर्ने योजना बनाएको थाहा पाएपछि जवाफमा उनैमाथि आक्रमण गर्ने योजना बनाएको नन्दु सरकारको समूहले भूपेन्द्रलाई भेट्टाएपछि आक्रमण गरेको थियो। 

सोही घटनापछि नन्दु सरकार समूहसहित १९ जना पुर्पक्षका लागि कैलाली कारागारमा थिए। जसमा जयन्द्र समूहका कपिल श्रेष्ठ पनि कैलाली कारागारमै छन्। दुवै समूहबिचको बैमनस्यता कारागारभित्र पनि जारी थियो। 

कारागारमा रहेका तीन ब्लकमध्ये ‘सी’ ब्लकमा महिला कैदी बन्दी राखिएका छन्। ‘ए’ ब्लकमा नन्दु सरकारको समूह राखिएको थियो।  ‘बि’ ब्लकमा कपिल श्रेष्ठ लगायतका अन्य कैदी बन्दी थिए। 

पछिल्लो पटक असारमा सिडिओ गोगनबहादुर हमाल कारागार निरीक्षणमा जाँदा ब्लक ‘ए’ मा मोबाइल फेला परेको थियो। त्यसपछि त्यहाँबाट सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएका थिए। त्यहीबाट सुरु भएको थप मनमुटाबले असार २८ गते पनि हिंसात्मक अवस्था सिर्जना गरेको थियो।जसमा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए। बोगटीमाथि कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको बताइन्छ। 

त्यहाँबाट सुरु भएको हिंसाको सिलसिलाले कारागारमा तनाव बढ्दा जिल्ला प्रशासन कार्यालयले कैदी बन्दीलाई अन्य कारागार सरुवासम्म पुगेको थियो। 

सरुवा भएकाहरू पनि नन्दु सरकार समूहकै सदस्यहरू थिए। जसका कारण उनको समूह आक्रोशित बन्यो। सोही कारण उक्त समूहले भित्ता फोडेर ‘बी’ ब्लकमा सुतिरहेका कैदीमाथि अन्धाधुन्ध सांघातिक हमला गरेको बुझिएको छ। 

उनीहरूले आक्रमण गर्दा खुकुरी, चक्कु, रड र जिममा सामग्री  प्रयोग गरेको बताइएको छ। सोही घटनामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ। 

कारागार कैदी बन्दीको कब्जामा

यता शुक्रबार रातिको घटनापछि कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन्। कैलाली कारागार कैदी बन्दीहरूको कब्जामा छ। कैदीबन्दीहरूले भित्रबाट ताला लगाएको जेलर रामप्रसाद  चौधरीले स्विकारे । 

कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा ग्यास सिलिन्डर राखेर कारागारमा आगो लगाइदिने चेतावनी पनि दिइरहेका छन्  कारागारभित्रको थप अवस्था थाहा हुन नसकेको सुरक्षा निकायले बताएका छन्। 

प्रकाशित: २४ श्रावण २०८२ १५:२१ शनिबार