मोरङको विराटनगरबाट प्रहरीले ३९८ किलो गाँजासहित स्कार्पियो कार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब १० बजे विराटनगर महानगरपालिका-३ आयल निगमस्थित सडकमा प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले आकस्मिक जाँच गर्ने क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीलाई चेकिङका लागि रोकेको थियो।
प्रहरीका अनुसार चेकिङ टोलीलाई देखेपछि स्कार्पियो चालकले गाडी ‘यू-टर्न’ गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि प्रहरीले स्कार्पियोभित्र खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा १३ पोकामा ३९८ किलो गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएलगत्तै स्कार्पियो चालक फरार भएका छन्। प्रहरीले उनको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको जनाएको छ।
ठक्करबाट बागमती प्रदेश नम्बरको कारका चालक सामान्य अवस्थामा रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ११ आश्विन २०८३ १०:३१ आइतबार