अपराध

धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने पक्राउ

धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौं महानगरपालिका–१४ का विशाल लामा छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले चन्द्रागिरि नगरपालिका–४ छुकिनटोलस्थित सडकमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र रु तीन हजार नगद लुटपाट गरेका थिए।

घटनालगत्तै फरार भएका उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१३ नैकापबाट पक्राउ गरेको हो। पक्राउका क्रममा प्रहरीले लुटिएको मोबाइल तथा घटनामा प्रयोग भएको घरेलु हतियार बरामद गरेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

घाइतेलाई उपचारका लागि थानकोट प्राथमिक अस्पताल पठाइएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८३ ०६:४६ बिहीबार