अपराध

जेनजी आन्दोलनमा नक्खु कारागारबाट भागेका कैदीबन्दी पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार डाँका चोरी मुद्दाका फरार दोलखा शैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरिएको हो।

उक्त मुद्दामा नक्खु कारागार ललितपुरमा ५ वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा गत भदौ २४ गतेको आन्दोलनका क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो। उनलाई कैद भुक्तानका लागि नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीले दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। उनीहरूका साथबाट २१४ ग्राम पहेँलो धातु बरामद गरिएको हो।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलीप परियार रहेका छन्।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनुषामा एक मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक रामभरत मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मिनिट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, बागलुङ, ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित सडकमा बोबाङबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा चालक आशिक घर्ती मगरको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: ३० जेष्ठ २०८३ १८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App