अपराध

हुण्डी कारोबारी खोज्दै प्रहरी: साढे ४४ लाखभन्दा बढी नगदसहित दुई पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा सञ्चालन भइरहेको हुन सक्ने हुण्डी कारोबारको अनुसन्धानका क्रममा रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले सीमापारबाट मोटरसाइकलको ट्याङ्कीमुनि ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ नेपाल भित्र्याइएको ३० लाख रुपैयाँ बरामद गरेको छ भने त्यस रकमको गन्तव्य भनिएको गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा छापा मार्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको जनाएको छ।

रौतहट प्रहरीको विशेष टोलीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्ने ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई नियमित जाँचका क्रममा नियन्त्रणमा लिएको थियो।

मध्यप्रदेश नम्बर प्लेट एमपी ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकल जाँच गर्दा भारतको बिहार राज्य, पूर्वी चम्पारण, फुलबरिया ग्राम पञ्चायत–१३ निवासी ३० वर्षीय सन्नी कुमार जैसवालले झोला तथा मोटरसाइकलको ट्याङ्कीमुनि बनाइएको फल्स बटममा रकम लुकाएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए।

जैसवाललाई नियन्त्रणमा लिएर रकमबारे सोधपुछ गर्दा उक्त ३० लाख रुपैयाँ गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक करिब ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनासँग हुण्डी कारोबारको सम्भावित सम्बन्ध रहेको आशंकापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमान्डमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा छापा मारेको थियो।

छापाका क्रममा प्रतिष्ठानका सञ्चालक शेख कमरुलको घरबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद भएको एसपी रिजालले बताए। रकम बरामद भएपछि प्रहरीले कमरुललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यससँगै प्रहरीले बरामद गरेको कुल रकम ४४ लाख ६४ हजार ६०५ रुपैयाँ पुगेको छ।

हुण्डी कारोबारको आशंका, सीमापार आर्थिक सञ्जाल अनुसन्धानको घेरामा

भारतबाट ठूलो रकम लुकाइछिपाइ नेपाल भित्र्याइनु, निश्चित व्यापारिक प्रतिष्ठानमा पुर्‍याउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्नु तथा सोही प्रतिष्ठानबाट थप नगद बरामद हुनुले घटनालाई सामान्य नगद ओसारपसारभन्दा फरक कोणबाट अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको प्रहरीले जनाएको छ।

हुण्डी कारोबारमा सामान्यतया बैंकिङ प्रणालीबाहिर अनौपचारिक सञ्जालमार्फत रकम एक स्थानबाट अर्को स्थानमा मिलान तथा भुक्तानी गर्ने गरिन्छ। सीमावर्ती क्षेत्रमा हुने यस्ता कारोबारको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले रकम ल्याउने व्यक्ति र रकम बुझ्ने भनिएका व्यक्तिबीचको सम्बन्ध, कारोबारको उद्देश्य तथा रकमको वास्तविक स्रोतबारे अनुसन्धान केन्द्रित गरेको छ।

यस घटनामा बरामद ३० लाख रुपैयाँ कसको हो, भारतबाट नेपालसम्म रकम ल्याउने जिम्मेवारी कसले दिएको थियो, न्यु तराई ट्रेडर्समा बरामद थप रकमको स्रोत के हो तथा यसअघि पनि यसरी रकम ओसारपसार हुँदै आएको थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ।

बरामद रकम कुनै संगठित हुण्डी सञ्जालसँग सम्बन्धित छ वा अन्य कुनै आर्थिक कारोबारको हिस्सा हो भन्ने विषय पनि अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

हुण्डी सञ्जालसम्म पुग्ने प्रहरीको प्रयास

नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो रकम लुकाएर भित्र्याइएको घटनाले सीमावर्ती क्षेत्रमा हुने नगद ओसारपसार तथा सम्भावित अवैध आर्थिक कारोबारमाथिको निगरानीलाई थप चुनौतीपूर्ण बनाएको छ।

प्रहरीले रकमको स्रोत, कारोबारबाट लाभ लिने व्यक्ति, सम्भावित अन्य संलग्न व्यक्ति तथा विगतका कारोबारको विवरणसम्म अनुसन्धान विस्तार गरी सम्भावित हुण्डी सञ्जालको वास्तविक स्वरूप पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै जनालाई बरामद रकमसहित नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ २०:१८ बुधबार