अपराध

प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी समात्यो

रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ।

रोहिणी गाउँपालिका-४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोक्न खोज्दा भागेपछि पछ्याएको थियो। 

भाग्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टेको र उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

सोही क्रममा उनीहरूलाई पक्राउ गर्ने क्रममा गोली चलाएको प्रहरीको भनाइ छ। प्रहरीको गोली लागेर रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका छन्। यादवको भैरहवामा उपचार भइरहेको छ।

प्रहरीले विशाल यादवसहित भारत महाराजगञ्जका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको जनाएको छ। साथै, उनीहरूको साथबाट लागुऔषध फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद  गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २४ चैत्र २०८२ ०८:१४ मंगलबार