अपराध

बसपार्कमा पार्किङ विवाद : धारिलो हतियार प्रहारबाट चार घाइते

हेटौँडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका-१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौलासहितका व्यक्तिबीच गाडी पार्किङको विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएपछि चार जना घाइते भएका हुन्। घाइते हुनेमा मनहरी-६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गा सिंहदेवी-७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती-२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती-४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।

जीवन गोले र रामबहादुर पाख्रीनको अवस्था मध्यम रहेको छ भने राइज आले मगर र जीवन तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारै जनालाई हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ। घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाउने क्रममा हेटौँडा-१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा-१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी-१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ।

यस्तै, घटनामा संलग्न रहेको शंकाका आधारमा भक्तपुर सूर्यविनायक-२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजतलास जारी राखेको जनाएको छ।

प्रकाशित: ३० श्रावण २०८३ ०७:१० शनिबार