बाराको जितपुर सिमरास्थित एक होटलमा घाँटीमा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। हत्यालगत्तै फरार भएका मुख्य आरोपी र घटनामा संलग्न अन्य ५ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, शनिबार साँझ करिब साढे ५ बजे जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो। सोही उपमहानगरपालिकाको वडा नम्बर १६ बस्ने २२ वर्षीय आयुष राईले खड्काको घाँटीमा चक्कु हानेका थिए।
गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ६:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्यापछि फरार रहेका मुख्य आरोपी आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले सोही राति १० बजे पक्राउ गरेको हो। उनी जितपुर सिमरा-१६ महेन्द्रनगरस्थित धानबारीमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए।
यस्तै, उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य ५ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा ठोरी घर भई हाल जितपुर सिमरा-२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, जितपुर सिमरा-२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना र २३ वर्षीय रत्न पाख्रिन तामाङ रहेका छन्।
त्यसैगरी, जितपुर सिमरा-१६ की ४३ वर्षीया शान्ति राई र ४० वर्षीया सिता थापामगर पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले पक्राउ परेका ६ जनामाथि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जानकारी दिए।
उनीहरूलाई बारा जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमरामार्फत थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ४ आश्विन २०८३ १८:५० आइतबार