अपराध

गाडीमा लोड गर्दै गरेको झण्डै डेढ टन गाँजासहित चालक पक्राउ

सुनसरी प्रहरीले अवैध लागूऔषध गाँजाको निकै ठूलो खेप बरामद गरेको छ।

इनरूवा नगरपालिका-१० स्थित जाल्पापुर चम्राही टोलबाट शनिबार बिहान १४५४ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-५ का ३० वर्षीय रामबहादुर यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले को.१ च ८२७९ नम्बरको पिकअप गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा चालक यादवलाई रङ्गेहात पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त लागूऔषध ४७ वटा ठूला पोकामा प्याक गरेर गाडीमा राख्दै गरिएको अवस्थामा फेला परेको थियो। बरामद गरिएको गाँजा जस्तो देखिने उक्त पदार्थको यकिन तौल १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम रहेको छ।

यति ठूलो परिमाणमा गाँजा कहाँबाट ल्याइयो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ३ आश्विन २०८३ २०:१३ शनिबार