विराटनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र विभिन्न लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरका ५९ वर्षीय लालकिशोर यादवलाई बुधबार बिहान एक थान कटुवा पेस्तोल र लागुऔषधसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मेन्द्रकुमार मिश्रले जानकारी दिए।
यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, लागुऔष्ध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको डिएसपी मिश्रले बताए।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।
त्यस्तै, उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट भरुवा बन्दुक र विस्फोटका पदार्थ प्रहरीले बरामद गरेको छ।
सामुदायिक वनबाट मंगलबार राति ९ बजेतिर बन्दुक र अन्य विस्फोटक पदार्थ बरामद भएको डिएसपी मिश्रले बताए।
भरुवा बन्दुका साथै बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थसमेत बरामद भएको डिएसपी मिश्रले बताए।
बरामद भएको बन्दुक र विस्फोटक पदार्थ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
प्रकाशित: ६ श्रावण २०८३ १४:१३ बुधबार