अपराध

भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा अवैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन्।

सर्लाहीको बरहथवा नगरपालिका १२ लौकट टोलमा हतियार सहित घुमिरहेको अवस्थामा बागमती नगरपालिका वडा नम्बर २ सुकुम्वासी टोल बस्ने वर्ष ३८ को बुद्धिमान घलानलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो।

लौकटटोलमा ३-४ जनाको सङ्ख्यामा अपरिचित व्यक्तिहरू अवैध हतियार बोकेर हिड्डुल गरिरहेको स्थानीयले दिएको गोप्य सूचनाको आधारमा इप्रका बरहथवाबाट खटिएको प्रहरी गस्तीटोलीलाइ देख्न साथ हरियाधारी मध्येका अन्य व्यक्तिहरू फरार भएको थियो।

अवैध हतियार सहित भाग्ने क्रममा इप्रका बरहथवाबाट खटिएको प्रहरी टोलीले चारैतिरबाट घेरा हाली बुद्धिमान घलानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए।

अवैध भरुवा बन्दुक सहित पक्राउ परेका घलानको साथबाट फलामको रड थान-१ (एक), प्लास्टिकको डब्बा सहित कालो रंगको धुलो पदार्थ डिजिटल दराजुमा तौल गर्दा ३५ (पैँतीस) ग्राम र स्टिलको डब्बा सहित कालो रंगको धुलो पदार्थ १४० (एक सय चालिस ग्राम), साइकलमा प्रयोग हुने फलामको बल ८० (असी) थान र फलामको रडको टुक्रा ५ (पाँच) थान बरामद भएको प्रहरीले जनाएको छ।

अवैध भरुवा बन्दुक सहित पक्राउ परेका घलानलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा  ७ (सात) को म्याद लिएर अनुसन्धान भइरहेको र अन्य फरारको खोजीकार्य भइरहेको डिएसपी राईले बताए।

प्रकाशित: १२ जेष्ठ २०८३ ०९:१८ मंगलबार