अपराध

भन्सार छलीको सामानसहित एकजना पक्राउ

फाइल तस्बिर

उदयपुरको कटारीबाट प्रहरीले अबैध सामान बोकेको गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।  

स्थानीय प्रहरी चौकी बेलसोतको टोलीले नियमित चेकजाँचको क्रममा भन्सार छलीको सामान बोकेको अवस्थामा सामान, गाडी र व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।  

मिर्चैया कटारी घुर्मी सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका १ बेलसोतस्थित चोकमा सोमबार बिहान साढे चार बजेको झिसमिसे उज्यालोमा सवारी चेकजाँचको क्रममा बा ३ ख ३९६ नम्बरको मिनी ट्रकमा अवैध सामान फेला परेको प्रहरीले जनाएको छ । मिर्चैयाबाट कटारी हुँदै घुर्मीतर्फ जाँदै गरेको मिनी ट्रकमा बिलविजक बिनाको २ सय ४५ काटुन भारतीय चिसो पेय पदार्थ (डिउ) फेला परेपछि सामान, गाडी र चालक सिन्धुलीको फिक्कल गाउँपालिका ५ का २९ वर्षीय भेषनाथ लुईटेललाई पक्राउ गरिएको हो ।  

बिना विलको बरामद सामग्री अन्दाजी ३ लाख १७ हजार ५ सय २० रुपैँया बजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खरिद मूल्य र स्थान नखुलेको सामान फेला परेपछि सामान बोक्ने ट्रकसहित सवारी चालक लुईटेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ बरामद अबैध सामान, सवारी साधन र चालक लुईटेललाई अनुसन्धानपछि आवश्यक कारबाहीका लागि सिराहाको खैरटोका माडरस्थित भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।

प्रकाशित: ९ भाद्र २०८२ १८:०५ सोमबार