अपराध

सर्लाहीमा भरुवा बन्दुकसहित एक पक्राउ

सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागमती नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान रहेका छन्। सोमबार बिहान इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको विशेष प्रहरी टोलीले घलानलाई अवैध हातहतियारसहित नियन्त्रणमा लिएको हो।

उनको साथबाट एकनाले भरुवा बन्दुक १ थान, करिब १०० ग्राम बारुद र ८० थान फलामको छर्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घलानलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। उनले सो हातहतियार के प्रयोजनका लागि बोकेका थिए भन्नेबारे प्रहरीले विस्तृत सोधपुछ गरिरहेको छ।

प्रहरीले पछिल्लो समय ‘अवैध हातहतियार नियन्त्रण’ अभियानलाई तीव्रता दिएको छ। यस सम्बन्धमा थप कानुनी कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १५:२६ सोमबार