अपराध

विदेशबाट आएको दश दिनमै छिमेकीको हत्या

वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै एक युवकले छिमेकी महिलाको हत्या गरेका छन्। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान भएको घटनामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार १० दिनअघि वैदेशिक रोजगारीबाट फर्किएका उपेन्द्र साह कलवारले व्यक्तिगत विवादका कारण हत्या गरेका हुन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४० वर्षीया रेनु देवी जयसवालमाथि खुकुरी प्रहार गरी हत्या गरिएको हो।

हत्यामा संलग्न बारा जिल्लाको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोलका स्थायी बासिन्दा तथा हाल हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवार रहेको प्रहरीले जनाएको छ।

आरोपित उपेन्द्रले आफ्नै छिमेकी महिलाको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेपछि घटनास्थलबाट भाग्ने प्रयास नगरी शवकै छेउमा हातमा रगतले लतपतिएको खुकुरी बोकेर बसेका थिए। उनको उक्त व्यवहारले स्थानीयवासी त्रसित बनेका थिए।

प्रहरी र स्थानीयलाई चुनौती दिँदै शव नजिकै खुकुरी लिएर बसेपछि आक्रोशित गाउँलेहरूले उनलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले उनलाई स्थानीयको भीडबाट उद्धार गरेको थियो।

उपेन्द्रले लामो समयसम्म हातमा खुकुरी बोकेर प्रहरी र गाउँलेलाई नजिक आउन चुनौती दिइरहेकाले घटनास्थल तनावग्रस्त बनेको थियो। घटनापछि ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएका थिए।

स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्रको प्रहरीले उद्धार गरी चन्द्रपुर अस्पतालमा कडा सुरक्षा व्यवस्थाका बीच उपचार गराइरहेको जनाएको छ।

घटनापछि हरिहरपुर टोल शोक र त्रासमा डुबेको छ। दिनदहाडै भएको यस हत्याले स्थानीयवासी स्तब्ध बनेका छन् भने घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद गरेको छ। साथै घटनाको कारण, मृतक र आरोपितबीचको सम्बन्ध तथा हत्याको वास्तविक उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

यस घटनाप्रति रौतहट क्षेत्र नम्बर ३ का पूर्वसांसद तथा आजपा अध्यक्ष प्रभु साहले दुःख व्यक्त गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न प्रशासनसँग आग्रह गरेका छन्।

प्रकाशित: ८ श्रावण २०८३ २०:०३ शुक्रबार