झन्डै ८ हजार किलो लागुऔषध गाँजा बेवारिसे अवस्थामा फेला परेको सात दिन नबित्दै झन्डै ३ हजार किलो गाँजा फेरि बरामद भएको छ।
उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेको टोलीले बेलका नगरपालिका ७ मैनामैनीको तिलतिलेमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको ८५ बोरा गाँजा फेला परेको हो।
टोलीले फेला पारेर ल्याएको सो गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर अनुसन्धान अघि बढाएको छ।
संलग्न व्यक्तिहरू भने कोही फेला नपरेकाले खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यसअघि मैनामैनीमै सशस्त्र प्रहरी बलले झन्डै ८ हजार किलो गाँजा बरामद भएको थियो। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो र ५ नं. गण हेडक्वाटर त्रियुगा, उयदपुर तथा ४ नं. गण हेडक्वाटर सुनसरीको संयुक्त टोलीले सडक किनारमा रोकिराखेको ट्रकमा राखिएको अवस्थामा फेला पारेको गाँजा ७ हजार ८ सय किलोभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
गत आइतबार मात्र अहिलेसम्मकै सबभन्दा धेरै ७ हजार ८ सय २६ किलोग्राम गाँजा बरामद भएको थियो। सशस्त्र प्रहरी बलले बेलका ८ दिवाजोर, मैनामैनीदेखि चतारा जाने खण्डको भित्री सडकबाट सो गाँजा बरामद गरेको हो।
ईन्टेलिजेन्स ब्युरोका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विक्रम हुमागाईँ कमान्डको विशेष टोलीसँग ५ नं। गण हेडक्वाटर त्रियुगा उदयपुर र नं. ४ गण हेडक्वार्टर सुनसरीको संयुक्त टोलीको सहकार्यमा प्रदेश १९०२९००२ ख ०२०६ नम्बरको ट्रकमा रोकिराखेको अवस्थामा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।
सो गाँजा पनि आवश्यक अनुसन्धानका लागि प्रहरीकै जिम्मा दिइएको सशस्त्र प्रहरी बल त्रियुगाले जनाएको छ।
प्रकाशित: २० कार्तिक २०८३ १८:१३ शुक्रबार
-600x400.jpg)


