नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक सञ्जीव महतोलाई प्रहरीले हिरासतमा लिएको छ।
प्रहरीले व्यवस्थापक महतोलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ। सहकारीका फरार अन्य पदाधिकारीहरूको खोजी भइरहेको जनाइएको छ।
महतोलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले पुष्टि गरे।
सहकारीका अध्यक्ष नगेन्द्र बहादुर रिमाल र व्यवस्थापक सञ्जीव महतोले रकम हिनामिना गरी २०७९ साल कात्तिकबाट फरार रहेका थिए।
नमस्ते सहकारीका सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकलगायत जिम्मेवारी व्यक्तिहरूले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना अपचलन गरेको पीडित बचतकर्ताले सहकारीको रकम हिनामिना अपचलन तथा ठगी सम्बन्धी शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा गत जेठ २ गते जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडितहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयर धनी पत्र, पास बुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र र परिचय खुल्ने कागजातसहित कानुन बमोजिम सहकारीको रकम अपचलन तथा हिनामिना शीर्षकमा प्रहरीले जाहेरी दरखास्त लिएको थियो।
यस्तै साउन १८ गते जिल्ला प्रहरीले सूचना जारी गर्दै सहकारीका ऋणीहरूले १५ दिनभित्र ऋण नतिरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो।
प्रकाशित: १८ कार्तिक २०८३ १८:५२ बुधबार