अपराध

आमा-छोराछोरी भेरीमा हेलिएको घटना: दुरुत्साहन मुद्दामा श्रीमान् पक्राउ

तस्बिर : भेरीमा हराएकाको खोजी गर्दै सशस्त्र प्रहरीको टोली

भेरी नदीमा छोराछोरीसहित आइतबार हेलिएकी माया कठायतका बुवाले उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन्। 

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार जाहेरी परेलगत्तै मायाका श्रीमान् भूपेन्द्र कठायतलाई पक्राउ गरिएको छ।

प्रहरी निरीक्षक प्रकाश केसीले श्रीमानको चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख भएको बताएका छन्। गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी ३८ वर्षीया मायाले आइतबार बेलुकी साढे चार बजेतिर ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित भेरी नदीमा हाम फालेकी थिइन्। सोमबार माया र मंगलबार छोरी आशाको शव फेला परे पनि पाँच वर्षका छोरा दीपक अझै फेला परेका छैनन्।

मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्। प्रहरीले पनि घरमा हुने दैनिक झैझगडा र यातनाका कारण मायाले छोराछोरीसहित आत्महत्याको बाटो रोजेको बताएको छ।

यो पनि पढ्नुहोस्

‘श्रीमानको यातना’ले छोराछोरीसहित भेरीमा अस्ताइन् माया

प्रहरीका अनुसार श्रीमानले शुक्रबार पनि यातना दिएपछि बेलुका साढे सात बजेतिर घर छोडेर उनी माइती काका अम्मरदेव गिरीको घरमा आएकी थिइन्। उनले काकालाई श्रीमानले यातना दिएको कुरा भनिनन्। उनले नेपालगञ्जबाट उपचार गरेर आउँदा रात परेकाले घर जान नसकेर आएको बताएकी थिइन्। 

त्यहीँ राति मायाका श्रीमान् भूपेन्द्र माइती काकाकै घरमा आएर मायालाई कुटपिट गरेका थिए। आइतबार बिहानै घर जान्छु भनेर माइतीबाट निस्केकी उनी बेलुका साढे चार बजेतिर छोराछोरीसहित भेरीमा हेलिएकी थिइन्। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख केसीले आत्महत्या दुरुत्साहनमा मायाका श्रीमान् भूपेन्द्रलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित: ५ चैत्र २०८२ १३:०८ बिहीबार