अपराध

नेपालमा एक वर्षमै ६१ हजारभन्दा बढी मुद्दा, औसतमा दैनिक १६७ अपराध दर्ता

नेपालमा एक वर्षको अवधिमा ६१ हजारभन्दा बढी आपराधिक मुद्दा दर्ता भएका छन् ।

नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा कुल ६१ हजार १६ वटा मुद्दा दर्ता भएको जनाएको हो । प्रहरीका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो। आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ४७२ मुद्दा दर्ता भएकोमा २०८२/८३ मा यो संख्या बढेर ६१ हजार १६ पुगेको छ।

प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १६७ वटा मुद्दा दर्ता हुने गरेको छ। सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरतर्फ देखिएको छ। एक वर्षमा बैंकिङ कसुरका १२ हजार ९५० मुद्दा दर्ता भएका छन्। त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ८ हजार ७०७ कसुर दर्ता भएका छन्।

आत्महत्यासम्बन्धी घटना ६ हजार १९७, लागूऔषधसम्बन्धी ५ हजार ७९१ र साधारण चोरीका ३ हजार ५२४ मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणीका २ हजार ३८०, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी २ हजार ३७५ र सवारी ज्यानसम्बन्धी २ हजार ९४ मुद्दा दर्ता भएका छन्।

प्रहरीको विवरणले नेपालमा अपराधको प्रकृति परम्परागत चोरी, हिंसा र अन्य अपराधसँगै आर्थिक तथा लागूऔषधजन्य कसुरतर्फ पनि गम्भीर चुनौती देखाइरहेको संकेत गरेको छ। प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १५ हजार २९७ मुद्दा दर्ता भएका छन्। मधेशमा १० हजार ७५० र कोशीमा ९ हजार ८६३ मुद्दा दर्ता भएका छन्।

प्रकाशित: २३ श्रावण २०८३ ०७:३८ शनिबार