सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार मृतक भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका-६ मा बस्दै आएका लालजीप्रसाद गुप्ता हुन्। उनी विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए।
खोलामा शंकास्पद रूपमा फालिएको बोरा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी उपरीक्षक मल्लसहितको टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको थियो।
गुप्ताको मृत्युको कारण र घटनामा संलग्नहरूको पहिचानका लागि आवश्यक अनुसन्धान तीव्र पारिएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।
प्रकाशित: ८ कार्तिक २०८३ १८:५९ आइतबार