अपराध

भोटेकोशी बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलङ्कीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका प्रवक्ता दानबहादुर थापाका अनुसार केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार केसीलाई सोधपुछ गर्ने क्रममा उनले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेका थिए। केसीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बुधबार सात दिनको म्याद थप गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०८३ ०७:०१ शुक्रबार