विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय अफरोज आलम र १३ तथा १६ वर्षीय दुई बालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लका अनुसार प्रारम्भिक अनुसन्धानबाट पानी तान्ने मोटरको तार चोरी गरेको विषयमा विवाद हुँदा गुप्ताको हत्या भएको खुलेको छ ।
आलमले मोटरको तार चोरी गरेको भन्दै गुप्ताले हल्ला फैलाएको विषयमा विवाद भएपछि उनलाई घरमै बोलाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी मल्लले बताए । हत्यापछि शव व्यवस्थापन गर्न दुई बालकलाई प्रयोग गरिएको प्रहरीको भनाइ छ ।
गुप्ताको शव कात्तिक ८ गते आइतबार बिहान बर्जु गाउँपालिकास्थित केसलिया खोलाको किनारमा बोराभित्र फालेको अवस्थामा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
भारत स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगर महानगरपालिका–६ मा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए । उनी विराटनगरमा एक्लै डेरा लिएर बस्दै आएका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित: ११ कार्तिक २०८३ १८:१० बुधबार