अपराध

पोखराबाट करिब १२ करोडको सुनचाँदीसहित ११ भारतीय पक्राउ

कास्की प्रहरीको 'मेगा अपरेसन': करिब १२ करोडको सुनचाँदीसहित ११ जना पक्राउ, एक फरार

कास्की प्रहरीले पोखरामा अवैध रूपमा सुनचाँदीको कारोबार गर्ने ठूलो गिरोहलाई पक्राउ गरी करिब १२ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति बरामद गरेको छ।

विशेष सुराकीको आधारमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा छापा मारी प्रहरीले ११ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो भने एक जना फरार रहेका छन्।

प्रहरीका अनुसार, पोखरा महानगरपालिकाका वडा नं. १, २, ३, ४ र १९ मा केही व्यक्तिहरूले अवैध तरिकाले सुन तथा चाँदीको कारोबार गरिरहेको गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट संयुक्त टोली परिचालन गरिएको थियो।

उक्त टोलीले विभिन्न स्थानमा छापा मार्दा कारोबारमा संलग्न ११ जनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालबाट आई पोखरामा बसोबास गर्दै आएका राजेन्द्र रामचन्द्र जगताप, मनिक आदक, सन्दिप दाब, सोमनाथ पाल, दिपक सामन्त, गोविन्द दिण्डा, असित वर, तापस सामन्त, उज्ज्वल भौमिक, सुनिता पवार र प्रभास माझी रहेका छन्।

प्रहरीले अभियुक्तहरूको साथबाट र एक फरार अभियुक्त सञ्जय दासको डेराबाट गरी कुल ५४९ तोला (६ किलो ४०० ग्राम) सुन, ४९९ तोला ७३.९ लाल चाँदी र १ लाख ८५ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ।

बरामद गरिएका सुन, चाँदी र नगदको जम्मा मूल्य करिब १२ करोड रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०८२ २१:४८ शनिबार