तीजका दिन मंगलबार दिउँसो तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न गएका कपिलवस्तुका तीन महिलाको सुनका गरगहना चोरी भएको छ ।
चोरी गर्ने महिलाहरुको समूहले कपिलवस्तुको यशोधरा गाउँपालिका-६ रंगपुरकी प्रिया जयसवालको दुई तोलाको रानीहार, कपिलवस्तु नगरपालिका-२ स्थित सुमन अग्रहरीको दुई तोलाको सुनको सिक्री तथा कपिलवस्तु नगरपालिका- १ गौडीचोक स्थित श्वेता ओझाको दुई तोलाको मंगलसुत्र चोरी गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरको सीसी टीभी फुटेजमा मन्दिर भित्रै सुनको गहना चोरेर निस्किएको देखिएको छ । मन्दिरमा गरगहना चोरी गर्ने महिलाको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
यसअघि पनि साउनको अन्तिम सोमबारका दिन तीन जना भारतीय महिलाको सुनको गरगहना चोरी भएको थियो । चोरी गर्ने महिलाका विषयमा जानकारी दिनेलाई नगद ५० हजार दिने पीडितले घोषणा गरेका छन् ।
प्रकाशित: ११ भाद्र २०८२ २०:२८ बुधबार