रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा राखिएकाे मोबाइलको स्पेयर बरामद गरेको छ।
सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा स्थानीय रास्वपा नेता भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको हो।
बुधबार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले दिएको बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा खटिएको टोलीले घरमा खानतलासी गरेर लाखौ मुल्यको मोबाइल सामग्री बरामद गरेको हो।
गणका एसपी चेतराजको कमान्डमा खटिएको ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालय रौतहटका प्रतिनिधिसहितको टोलीले गौर–४ टिकुलियास्थित रास्वपा नेता साहको घरमा छापा मारेको थियो।
खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सरसामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्रीको अनुमानित मूल्य रु ५० लाख १४ हजार ५०० रहेको बताइएको छ। सोही क्रममा ३ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: ७ आश्विन २०८३ १३:२० बुधबार