कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरे पछि दिनहुँ लाखौँ मूल्यका अवैध माल बरामद हुने गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण, हेक्का कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय दिएको विवरण अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज महिनाको अवधिमा ४ करोड ६५ लाख ६३ हजार १९७ रुपैयाँका अवैध मालसामान बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण, हेक्का कपिलवस्तु ले ३ महिनामा २ करोड ३८ लाख ५९ हजार ६४९ को सामान बरामद गरेको छ।
प्रहरीले ३ महिनामा कुल २ करोड, २७ लाख २३ हजार ५४८ अवैध मालसामान बरामद गरेको छ।
भारतबाट अवैध रुपमा भित्राइएका लत्ताकपडा, किराना, कस्मेटिक, पेट्रोलियम पदार्थ, बनपैदावार, औषधी, सूर्तीजन्य पदार्थ, बाख्रा खसी, भैँसी बीउ बिजन, अण्डा, हरियो तरकारी, फलफूल मोबाइल र पार्टस्, हार्डवेयरका सामान, मोटरपार्टस्, पेय पदार्थ, खाद्यान्न, इलेक्ट्रिक सामान, कवाड सामान, पटाका, नदीजन्य पदार्थ लगायतका सरसामान बरामद गरिएको हो।
सशस्त्रले ढुवानीमा प्रयोग भएका ३७ थान माेटरसाइकल, बस एक, ३ अटो, १४ साइकल भन्सारमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।
चल्ला, ब्राइलर कुखुरा, पटाका, दूध र अण्डा भने नष्ट गरिएको उनले बताए। नेपाल प्रहरीले भने अवैध ढुवानीमा संलग्न रहेको आरोपमा १० जना मानिस र ४० वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
प्रहरीले २ करोड १२ लाख ४० हजार ८३६ रुपैयाँको मालसामान, ४ लाख ९० हजारको काठ ३ लाख ३२ हजार बराबरको अवैध नदीजन्य पदार्थ, चल्ला कुखुरा र माछा गरी ६ लाख ६० हजार बरामद गरेको थियो।
सुरक्षा निकायले सीमा र जिल्लाका विभिन्न स्थानमा तस्करीमा कडाइ गरे पछि तस्करी घटेको व्यापारीहरू बताउँछन्। विगत जस्तो ठुलो परिणामको तस्करी अहिले पुरै घटको व्यापारीहरू बताउँछन्।
तस्करहरूले चाइनाको सामानहरू भारतमा र भारतको सरसामानहरू नेपालमा तस्करी गर्ने गर्छन्। कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर जोडिएको र खुला सिमानाका कारण तस्करीमा चुनौती भएको सुरक्षाकर्मी बताउँछन्।
सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले तस्करी र भन्सार छली नियन्त्रणका लागि कडाइ गरिएको बताए। उनले सीमा क्षेत्रमा रहेको बेस र युनिटलाईलाई कडा निर्देशन दिएकाले अहिले विगतको तुलनामा तस्करी नियन्त्रणमा भएको उनले दाबी गरे।
प्रहरी उपरीक्षक मनोहर भट्टले सीमा क्षेत्रमा तस्करी र भन्सार छली, लागुऔषध, अपराध, चेलीबेटी बेचबिखनका विषयमा निगरानीसहित कडाइ गरिएकाले अहिले त्यसको सकारात्मक परिणाम आएको बताए।
उनले खुला सीमाका कारण नियन्त्रण चुनौती देखिएपनि आपसी समन्वयमा अघि बढेको उनले बताए। कडाइले गर्दा कृष्णनगर र सुठौली भन्सारको राजस्व लक्ष्य अनुसार संकलन भएको छ।
प्रकाशित: १० कार्तिक २०८३ ११:५१ मंगलबार