अपराध

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ का एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–१५ हड्ताली हाटका रोशन साहलाई श्रीमतीको हत्या गरी शव लुकाएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार रोशनले आफ्नी श्रीमती ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरी शव लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

कोमलकै शव हो भने घर पक्षकाले पुष्टि गरेको लामिछानेले बताए। तर, माइती पक्षबाट शवको यकिन सनाखत हुन बाँकी रहेको र यकिन सनाखत भएपछि थप सबै कुरा प्रस्ट हुने उनले बताए।

सोमबार साँझमा विराटनगर १७ नम्बर वडा कार्यालय र छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र शव जस्तो देखिने वस्तु फेला परेको भनेर प्रहरीलाई खबर आएपछि गएर हेर्दा शव कपडाले बेरेको अवस्था भेटिएको थियो। तन्नाले शवलाई बेरेर पानीमा फ्याकिएको र बेरिएको भन्दा बाहिर महिलाको खुट्टा देखेपछि मानिसकै शव भएको यकिन भएको प्रहरीले जनाएको छ।

त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित डिएसपी र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। त्यसपछि प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढायो। सोही क्रममा मृतक महिला कोमलकुमारी साह रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन्। रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहित श्रीमती हराएको र खोजविन गरिदिन भनेर निवेदन दिएका थिए। चैत ६ गतेदेखि सम्पर्कविहीन, ८ गते श्रीमती हराएको भनेर प्रहरी कहाँ निवेदन दर्ता भएको र १० गते साँझ ७ बजेतिर घरदेखि करिब ४–५ किलोमिटर पूर्व कल्भर्टको मुनि पानीमा शव तन्नाले बेरेर फ्याकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोशनले हत्या गरेपछि शवलाई लुकाउन सुनियोजित प्रयास गरेका देखिन्छ। हातखुट्टा बाँधी श्रीमतीको शवलाई तन्नाले बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिम, १७ नम्बर वडा कार्यालय नजिकैको कल्भर्टमुनि पानीभित्र फालेर शव व्यवस्थापन गरी घटना लुकाउनलाई घरदेखि करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको उक्त स्थान रोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट रोशनले कोमलको घाँटी थिचेर हत्या गरी प्रमाण नष्ट गर्न र घटना लुकाउन शवलाई टाढा पुर्याएको खुलेको छ।

इलाका प्रहरी कार्यालय रानीमा रोशनलाई राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाका थप तथ्यहरू सार्वजनिक हुने प्रहरीले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८२ ११:२० बुधबार