उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चौदण्डीगढी-२ डाँडागाउँका करिब ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी श्रीमती ४५ वर्षीया बिमला राईलाई हँसियाले गर्दनमा प्रहार गरेका थिए।
घाइते बिमलालाई प्रहरीको टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो। उपचारका क्रममा उनको राति करिब १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि गन्दु राम आफैं माडिबासस्थित प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टार ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३ ०८:३० आइतबार