नवलपुर प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ।
पूर्व–पश्चिम राजमार्गमा बिलबिजक नभएको भन्सार छलीको सामान ओसार–पसार भइरहेको सूचनाका आधारमा ६२ लाख ५० हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
कावासोती नगरपालिका –८ फलफूल चोकमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व नारायणघाटतर्फ जाँदैगरेको ना.३ ख ४६७२ नम्बरको ट्रक जाँच गर्ने क्रममा बिलबिजक नभएको, लुकाइछिपाइ राखिएको अवस्थामा सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए।
विभिन्न रंगका कुर्थी–सुरुवाल २,१६० थान, साडी १,८०० थान, कालो कपडा २२५ थान र कालो कपडा ३१५ थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको कुल मूल्य करिब ६२ लाख ५० हजार ५०० रुपैयाँ रहेको छ।
बरामद सामान र ट्रक चालकसहित महेशपुर भन्सार कार्यालय नवलपरासी पठाइएको कार्यालयले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३ १७:४५ मंगलबार



