अपराध

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ५३ लाख बराबरका सामान बरामद

प्रहरीले नागढुंगा चेकपोइन्टबाट दिल्लीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट करिब ५३ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

बिहीबार नागढुंगा चेकपोइन्टमा प्रहरी प्रभागबाट खटिएको टोलीले बा.प्र.०३–००१ ख ३५३६ नम्बरको बसमा चेकजाँच गर्दा बिल–बिजक तथा भन्सार कागजातबिनै लुकाइछिपाइ ल्याइएका ५३ लाख बराबरको सामान बरामद गरेको हो।

प्रहरीले बसभित्र लुकाइछिपाइ ल्याइएका विभिन्न कम्पनीका मोबाइल फोन, ल्यापटप, टेम्पर्ड ग्लास, कपडा तथा जुत्ता बरामद गरेको जनाएको छ।

प्रहरीले बस चालक उदयपुरको सिद्धिचरण नगरपालिका–७ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–११ बस्ने ३४ वर्षीय पविन्द्र राना मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाएको जनाएको छ।

प्रकाशित: ५ भाद्र २०८३ १३:४६ शुक्रबार