सुन्धारास्थित केन्द्रीय कारागारको महिला बन्दी गृहको पर्खाल नाघेर फरार भएकी एक महिलालाई प्रहरीले दुई दिनमै पुनः पक्राउ गरेको छ।
अपहरण, हत्या र डाँका चोरी मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी सपना तामाङलाई आइतबार काठमाडौंको असनबाट नियन्त्रणमा लिइएको हो।
नुवाकोटको किस्पाङ गाउँपालिका-१३ घर भएकी २५ वर्षीया सपना गत शुक्रबार राति कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र कारागार सुरक्षार्थ खटिएको अनाश्रित गुल्मको सहयोगमा उनलाई असन चोकबाट समात्न सफल भएको हो।
पक्राउ परेकी तामाङलाई जिल्ला अदालत रसुवाले अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
उनी सोही कैद भुक्तानका लागि जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा रहेकी थिइन्। तर, गत शुक्रबार राति कारागारको कम्पाउन्डको पछाडिपट्टिको पर्खाल नाघेर उनी भाग्न सफल भएकी थिइन्।
उनलाई पुनः कैद भुक्तानका लागि आइतबार नै केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।
फरार बन्दीलाई आश्रय दिएको र लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको छ। असन बस्दै आएका भोजपुर नगरपालिका–११ का ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय सुवास भनिने समिर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बन्दी सपना तामाङ कारागारबाट भागेपश्चात् उनीहरूले नै उनलाई लुकाउन मुख्य भूमिका खेलेका थिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: ४ जेष्ठ २०८३ १८:१९ सोमबार