अपराध

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्।

सोमबार साँझ ६:३० बजे आदर्शनगरस्थित प्रदेश २-०३-००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी खानतलासी लिने क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

पक्राउ पर्नेमा भारतको बिहार स्थित सीतामढी जिल्ला, डुमरा थाना-६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ बस्ने ३२ वर्षीय उपेन्द्र साह, सोही स्थान बस्ने २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ।  

बरामद रकममध्ये १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको छ। बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २६ श्रावण २०८३ ०६:४२ मंगलबार