अपराध

ह्वाट्सएपमार्फत एसइईमा चिट चोराउने शिक्षकसहित चार पक्राउ

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रविधिको दुरुपयोग गरी चिट चोराउने कार्यमा संलग्न एक शिक्षकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गोप्य सूचनाका आधारमा परीक्षा केन्द्र आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरीका अनुसार माध्यमिक विद्यालय सिम्राभवानीपुर परीक्षा केन्द्रमा चिट चोराउँदै गरेको अवस्थामा चन्द्रपुर नगरपालिका-६ का १९ वर्षीय रञ्जित साह पक्राउ परेका हुन्।

यसैगरी, माध्यमिक विद्यालय शीतलपुरमा शिक्षकका रूपमा कार्यरत चन्द्रपुर नगरपालिका-७, वनबहुअरी टोलका ४० वर्षीय तेजनारायण चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, गुजरा नगरपालिका-५, लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र सोही ठाउँका २४ वर्षीय समिर मन्सुरी पनि चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जाल ह्वाट्सएपमा छुट्टै समूह बनाएर परीक्षामा अनियमितता गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूले सोही समूहमार्फत परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने र उत्तर तयार पारेर भित्र परीक्षार्थीसम्म पुर्‍याउने काम गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०८२ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App