बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पाल्पामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३८ वर्षीय होम बहादुर थापा मगर पक्राउ परेका छन्। तनहुँको भानु नगरपालिका-८ घर भई हाल पाल्पाको तिनाउ गाउँपालिका-३ देउराली बस्ने उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उता कञ्चनपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय बिशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान गरिरहेका छन्।
प्रकाशित: २३ कार्तिक २०८३ १७:४६ सोमबार
_-600x400.jpg)


