अपराध

बालिका र युवकमाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतोलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका-२० मा एक बालिका र एक युवकमाथि दुर्व्यवहार गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । आरोपितहरूले पीडितलाई घेरा हाली भिडियो बनाउनुका साथै उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएका थिए ।

उनीहरूले अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत रु छ हजारसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२-०१ प २९०२ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०८३ ०६:२३ शनिबार