बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र रोमानिया लगायतका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पीडितहरूबाट २० लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ३१ वर्षीया मनिषा सुनार र ३४ वर्षीय ठाकुर बहादुर सुनार, पाल्पा घर भई तारकेश्वर नगरपालिका-१६ बस्ने ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन्।
प्रहरीका अनुसार अभियुक्तहरूले विभिन्न देश पठाइदिने भन्दै प्रतिव्यक्ति लाखौँ रकम असुलेका थिए। जसमध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिने भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए।
त्यसैगरी, खोप बहादुरले रोमानियाका लागि २ लाख, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिने भन्दै ३ लाख ५० हजार र सिताले पोर्चुगल पठाइदिने प्रलोभनमा पारी ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी प्रहरीमा परेको थियो।
पीडितहरूको जाहेरीका आधारमा खटिएको अनुसन्धान टोलीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट शनिबार नियन्त्रणमा लिएको थियो। यस्तै, खोप बहादुरलाई आइतबार तारकेश्वर–१६ बाट तथा दिपेन्द्र र सितालाई सोमबार काठमाडौं–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।
प्रकाशित: ६ आश्विन २०८३ १४:५१ मंगलबार