अपराध

हतियारधारी डाका समूहको गोलीबाट बाबुछोरा घाइते

सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हाकट्टीमा गएराति डाका समूहको प्रतिकार गर्दा बाबुछोरा घाइते भएका छन्। 

स्थानीय वीरेन्द्र महतो र उनको छोरा अनिल सिंह महतो डाका समूहको गोलीबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेश बहादुर पालले जानकारी दिए।

राति ८/१० जनाको समूहमा नकाब लगाएर आएका हतियारसहितका डाका समूहले गाउँ प्रवेश गरी स्थानीय भोला महतोको घरमा डकैती गर्न थालेपछि उनले गाउँलेलाई गुहार लगाए। 

छिमेकी वीरेन्द्र उनका छोरा अनिलसहितका छिमेकीहरु पुगेर डाका समूहको प्रतिकार गर्न थालेपछि डाका समूहले गोली चलाए। गोली लागेर वीरेन्द्र र अनिल घाइते भएर ढलेपछि प्रतिकारमा उत्रिएका छिमेकीहरु पछाडि हटे। र, डाका समूह डकैती गरेर सहजै उम्किन सफल भएको पीडित भोलाले बताए।

वीरेन्द्र र अनिलको छातीको दायाँ र बायाँ भागमा गोली लागेको छ। उनीहरुको उपचार विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भइरहेको डिएसपी पालले जानकारी दिए। डाका समूहको अझै पहिचान हुन सकेको छैन। 

पहिचान र खोजीमा प्रहरी खटिएको पालले बताए। अहिले गाउँभरि त्रास र आक्रोश फैलिएको छ।

प्रकाशित: ३ मंसिर २०८२ ०९:०६ बुधबार