अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई दाङ, धादिङ, कास्की, सिराहा, कैलाली, कपिलवस्तु र तनहुँबाट नियन्त्रणमा लिएको हो।
**
दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय मानव बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका-६ बरिगाउँ बस्ने ३० वर्षीय सुनु विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धादिङ, थाक्रे गाउँपालिका-६ महादेववेशी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ग्राम र चरेश करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ह ८७९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-११ रामघाट बस्ने ५२ वर्षीय बिर बहादुर नेपालीलाई नियन्त्रित लागूऔषध स्पास्मो १ हजार २ सय ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
सिराहा, गोलबजार नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बल्डडा बस्ने २२ वर्षीय दिप कुमार यादव र नरहा गाउँपालिका-५ बस्ने ३० वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको स.७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २५ वर्षीय सिम चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६० मिलिग्राम सहित बुद्धभूमि नगरपालिका-२ गोरूसिंगे बस्ने २२ वर्षीय सुदिप घिमिरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो २ सय ९० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय अक्कल बहादुर तामाङ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको बा.९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २१ भाद्र २०८२ २१:१७ शनिबार