अपराध

२१ लाख बढीको अवैध सुनजस्तो पदार्थसहित गौर पक्राउ

धनगढीमा भन्सार छली गरी ल्याएको लाखौँ मूल्यको अवैध सुनजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ बाट ३६ वर्षीय दिपक गौरलाई नियन्त्रणमा लिएको हो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-९ बस्ने गौरले अवैध पदार्थ बोकेर हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई फेला पारेको थियो।

खानतलासी गर्दा उनको साथबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद गरिएको हो। यसको बजार मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको छ।

गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’ को नाममा छाप नरहेको बिलसमेत फेला परेको थियो। बरामद पदार्थको स्रोत खुलाउन नसकेपछि र भन्सार छली गरी ल्याइएको खुलेपछि उक्त वस्तु नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको सुनजस्तो देखिने पदार्थसहित गौरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको छ।

प्रकाशित: ३ भाद्र २०८३ ०६:५१ बुधबार