अपराध

चेक र फोनपेबाट डेढ लाख घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख, इन्जिनियर (करार) प्रदीप कुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो।

आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार चौधरीले राष्ट्रसेवक पद तथा ओहदाको दुरुपयोग गरी नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्न गराउन विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिएका थिए।

त्यसक्रममा उनले कमिसन/घुस माग गरी बार्गेनिङ गर्दै चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा फोनपे मार्फत एक लाख रुपैयाँ लिएको अनुसन्धानबाट पुष्टि भएको छ।

निर्माण व्यवसायीबाट विभिन्न भुक्तानीको विषयमा अनुचित लेनदेन गरेको, ह्वाट्सएपमा च्याट गरेको र ठेकेदारले उनको खातामा मोबाइल बैंकिङमार्फत पैसासमेत पठाएको प्रमाण रहेको भन्दै चौधरीलाई यथाशीघ्र नियन्त्रणमा लिई कारबाही गर्न मागसहित उजुरी परेको थियो।

सोही उजुरीमाथि अनुसन्धान गर्दा घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ।

आयोगले चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय मागदाबी लिई आरोपपत्र दायर गरिएको हो।

प्रकाशित: ११ मंसिर २०८३ १६:१४ शुक्रबार