अपराध

लागू औषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-३१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम र नगद १२ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ३० वर्षीय शैलेश थापा मगर रहेका छन्।

प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले डिल्ली बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका-१६ गणेशस्थान मार्गबाट नियन्त्रित लागूऔषध नोर्फिन १२ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल र नगद ९ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय प्रदिप खड्गीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपाबाट नियन्त्रित लागूऔषध नोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल, डाईजेपाम ४० एम्पुल र नगद ९० हजार रूपैयाँ सहित ललितपुर कुपनडोल बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका २५ वर्षीय मनोज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ मिलनचोक बस्ने ३१ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ७ प ६८३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ स्थित मेचीवान होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम र नगद १ लाख २२ हजार ९० रूपैयाँ सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय पकंज मैनाली, ३३ वर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० बस्ने ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका-१ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन्।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ श्रावण २०८२ १४:४५ मंगलबार