अपराध

हत्याका खबरले त्रसित बाँके, चार महिनामा पाँचको हत्या

सांकेतिक तस्बिर

रातको सन्नाटा चिर्दै कोहलपुर–२, आनन्दनगरमा चर्को बिबादको आवाज सुनियो, केही मिनेटमै त्यो आवाज मौन भयो, र अर्को बिहान एउटा लास भेटियो । यस्तो दृश्य अब बाँकेका गाउँबस्तीका लागि नयाँ रहँदैन । झगडा ज्यानघातमा परिणत हुन थालेका छन् । सानो रिस, क्षणिक आवेग र मदिराको नशाले बाँचिरहेको सम्बन्धलाई एकै झट्कामा तोडिदिन्छ । यही बाँकेको पछिल्लो यथार्थ हो, ‘जहाँ विकासका खबरहरूसँगै हत्या पनि सामाजिक जीवनको दुःखद् भाग बन्दै गएको छ ।’

गत आर्थिक वर्षमा मात्रै ११ जनाको हत्या भएको थियो, र यो वर्ष साउनदेखि अहिलेसम्म पाँचजनाको हत्या भएको छ । यो संख्याले घटेको देखिए पनि, समाजभित्र फैलिएको आक्रोश, असहिष्णुता र हिंसाको संस्कृति अझै उस्तै तीक्ष्ण छ । प्रहरी अभिलेख हेर्दा थाहा हुन्छ, ‘अधिकांश हत्या पारिवारिक झगडा, मदिरा सेवन, आपसी रिसइबी र साना विवादकै कारण भएका हुन् ।’  

खजुरा–६ का अर्जुन राना, जानकी–६ का मुकेश पासी, नेपालगन्ज–५ का जाबिर अलि बेहेना, दैलेख भैरवी–४ की निर्मला थापार कोहलपुर–२ की हरिकला विक यो घटनाका शिकार बनेका छन् । उनीहरू सबै फरकफरक पेसा र पृष्ठभूमिबाट आएका थिए, तर साझा कुरा एउटै थियो, ‘हत्या ।’

बाँकेका गाउँघरमा झगडा, रिस र विवाद सामान्यजस्तै लाग्छ । तर, पछिल्ला वर्षहरूमा त्यस्ता झगडाहरू अब प्राणघातक रूप लिन थालेका छन् । कतिपय घटनामा मदिराले प्रमुख भूमिका खेल्छ । सानो विवादमा हात हाल्ने, अनि क्षणभरमै चक्कु, लाठी वा दाउराले आक्रमण गर्ने प्रवृत्ति बढेको प्रहरीले बताउँछ । कतिपय हत्या पारिवारिक हिंसाका परिणाम हुन्, जहाँ पतिको हिंसाले पत्नीको ज्यान लिएको छ, कतै भाइबीचको सम्पत्ति विवादले ठूलो रूप लिएको छ । यी घटनाले बाँकेको सामाजिक तानाबाना कति कमजोर हुँदै गएको छ भन्ने प्रस्ट पार्छ ।

प्रहरीका अनुसार, हत्या भएका घटनामा अधिकांश अपराधी पीडितकै परिचित व्यक्ति हुन्छन् । साथी, नातेदार वा छिमेकीबीचकै झगडा ज्यानघातमा परिणत हुने गरेका छन् । यसले समुदायभित्रको विश्वास घट्दै गएको स्पष्ट संकेत दिन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले भने, ‘हत्या रोक्न कानुनी मात्र होइन, सामाजिक सहयोग पनि आवश्यक छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पातलीका अनुसार पूर्व नियोजितभन्दा पनि भव्यतव्यबाटै हत्यासम्मका घटना भएको देखिन्छन् ।  

‘क्षणिक आवेग, कुन्ठा, रिसइवी लगायतका कारणले अपराधिक मनोवृत्तिलाई बढाएको देखिन्छ । कतिपय घटनामा आर्थिक तथा पारिवारिक कलह पनि जोडिएका छन्,’ उनले भने, ‘परपुरुष र परस्त्रीसँगको सम्वन्धका कारण पनि हत्यासम्मका घटना भएका छन् ।’

यस्ता घटना बढ्नुको पछाडिको कारण दण्डहिन्ताले प्रश्य पाउनु भएको वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले बताए । ‘दोषीहरुलाई कारबाही नहुँदा पनि यस्ता घटना दोहोरिएको पाइएको छ । शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणमा प्रहरीको भूमिका पनि प्रभावकारी भएन,’ उनले भने ।

पछिल्लो समय हत्याका घटनाका बारेमा पीडितहरु प्रहरीकहाँ पुग्नेक्रम बढेको प्रहरीका पूर्व एसएसपी वीरबहादुर ओलीले बताए । ‘चेतनाको स्तर बढ्नु, प्रहरीको सहज पहुँचलगायतका कारणले पनि रिर्पोट हुन थालेका छन् । पहिला हत्याका केशहरु मिस हुँदै आएको पनि देखिन्छ,’ उनले भने, ‘जघन्य अपराधका घटनामा प्रहरीले गहिरो ढंगबाट अनुसन्धान गर्ने, कारवाही गर्ने गरेकै छ । नियोजित भन्दा पनि पछिल्लो समय भवितव्यमा हत्यासम्म पुगेका घटना छन् ।’

हत्या हुने घटना घट्दै गए पनि बाँके अझै सुरक्षित ठान्न सकिँदैन । यो सीमावर्ती जिल्ला भएकाले अपराधका स्वरूप विविध छन्, नशा ओसारपसार, तस्करी, घरेलु हिंसा, अनि व्यक्तिगत द्वन्द्व । भारतसँगको खुला सीमा र बढी जनसंख्या भएका शहरी बस्तीले अपराध नियन्त्रणलाई चुनौतीपूर्ण बनाएको छ । 

प्रकाशित: ६ मंसिर २०८२ १८:१४ शनिबार