अपराध

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंका दीपेश डङ्गोल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले स्कुटरमा सवार भइरहेको अवस्थामा डङ्गोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। पक्राउपछि डङ्गोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगद फेला परेको प्रहरीले जनाएको छ। उनको साथबाट भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रु ४१ हजार बरामद गरिएको छ।

प्रहरीले बरामद गरिएका गरगहना तथा नगद चोरीसँग सम्बन्धित रहेको जनाएको छ। डङ्गोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।

प्रकाशित: ३ मंसिर २०८३ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App