अपराध

खुर्पा प्रहार गरी श्रीमतीको ह'त्या, श्रीमान् पक्राउ

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

सुनवल नगरपालिका-१३, घ्युडल्ला निवासी ६२ वर्षीय खड्का बहादुर थापालाई ५५ वर्षीया श्रीमती भिमकला थापाको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार खड्काले श्रीमती भिमकलालाई खुर्पाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले अभियुक्त थापालाई घटनास्थलबाटै पक्राउ गरेको हो।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १६:५८ मंगलबार