अपराध

सशस्त्र प्रहरीका हवल्दारलाई ज्यानसम्बन्धी मुद्दा

पाँच दिनअघि सशस्त्र प्रहरीको गोली प्रहारबाट कोशी गाउँपालिका वडा नं. १, लौकहीका एक जना सिटी सफारी चालकको हत्या प्रकरणमा सशस्त्र प्रहरी हवाल्दारलाई मुद्दा चलाइएको छ । सिटी सफारी चालक करिब ४४ वर्षीय विजय शाहको हत्या प्रकरणमा सशस्त्र प्रहरी हवाल्दार नवराज खतिवडालाई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार सशस्त्र प्रहरी हवाल्दार खतिवडालाई सोधपुछ गरि मुद्दा दर्ता गरिएको हो । ‘एक जना सशस्त्र प्रहरीका हवाल्दारलाई सोधपुछ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ, अब बाँकी छानबिन समितिको छानबीनबाट आएको प्रतिवेदनका आधारमा अरुको संलग्नता खुल्नेछ,’ उनले भने ।  

पुस १७ गते बिहान भएको घटनाको सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरीका डीएसपी तथा राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर सदस्य रहने तीन सदस्यीय छानविन समिति गठन भएर छानबीन भइरहेको छ । छानबीन समितिको एक साताको म्याद रहेको छ ।  

भारतीय सीमाबाट करिब ५०० मिटर उत्तरतर्फ पर्ने क्षेत्रमा सिटी सफारी चालक शाहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरि हत्या भएको थियो । हत्यापछि गत बिहीबार बिहानैदेखि लौकहीमा भएको प्रदर्शन भएकोमा पाँच बुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो ।  

सिटी सफारीमा चिनी, सरफ र सुर्तीजन्य पदार्थ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सिटी सफारी चालक शाहलाई गोली प्रहार गरेको थियो । 

प्रकाशित: २३ पुस २०८२ १७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App